नेविसंघले अनुभवि नेतृत्वदायी उमेदवार उठाएकाे दावी

त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै जाँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारहरूको क्रेज बढ्दो छ। यसपटक संगठनले अनुभवी, लोकप्रिय, र संगठनप्रति प्रतिबद्ध उम्मेदवारहरूलाई अघि सारेको छ । आगामी चैत्र ५ गते हुने निर्वाचनमा नेविसंघले स्ववियुमा दुई वर्षको अनुभव प्राप्त गरिसकेका नेता कार्यकर्तालाई प्राथमिकता दिएको छ ।

अनुभवी नेतृत्वको निरन्तरता : सभापति पदमा कृष्ण अर्याल
नेविसंघले सभापति पदका लागि पुनः कृष्ण अर्याललाई अघि सारेको छ। उनी २०७९ को स्ववियु निर्वाचनमा निर्वाचित भएका थिए र त्यसयता स्ववियुको नेतृत्व गर्दै आएका छन् । अघिल्लो कार्यकालमा उनले विद्यार्थी हकहितका मुद्दा उठाउनुका साथै क्याम्पस विकासका लागि महत्त्वपूर्ण योजनाहरू अघि सारेका थिए । नेविसंघले २०७९ मा सभापति पद मात्र पाएर सचिव र कोषाध्यक्ष पद गुमाएको थियो । यही कारण, यसपटक संगठनले आफ्ना उम्मेदवारलाई अझ मजबुत रूपमा अघि सार्दै अनुभवी नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको हो ।

अर्याल नेतृत्वमा रहँदा क्याम्पसभित्र विभिन्न शैक्षिक तथा रचनात्मक गतिविधि सम्पन्न भएका थिए । उनले त्रिभुवन बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुधार, र विद्यार्थी हकहित सुनिश्चित गर्ने प्रयासहरू गरेका थिए । उनको नेतृत्वमा स्ववियुले क्याम्पस सुधारका विभिन्न पहलहरू थालेको थियो, जसलाई आगामी कार्यकालमा पूर्णता दिने लक्ष्यका साथ उनी पुनः उम्मेदवार बनेका छन् ।

सचिव पदमा सुशील बस्याल : सक्षम र निडर विद्यार्थी नेता
सचिव पदका लागि नेविसंघले सुशील बस्याललाई अघि सारेको छ । उनी अघिल्लो कार्यकालमा स्ववियु सदस्यको रूपमा काम गरिसकेका अनुभवी विद्यार्थी नेता हुन्। बस्यालले संगठनलाई सशक्त बनाउँदै विद्यार्थीका वास्तविक मुद्दाहरू उठाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
राष्ट्रप्रेमी नामले परिचित सुशील बस्याल एक घर एक लालिँगुरासका सामाजिक अभियान्ता समेत हुन् । उनले केही समय अगाडी राष्ट्रिय झन्डा क्याम्पसमा हस्तान्तरण गरेका थिए । उनी प्रखर, निडर र बहुप्रतिभासाली व्यक्ती हुन् । बस्यालले विद्यार्थीहरूको शैक्षिक सुधार, पुस्तकालय व्यवस्थापन, र क्याम्पसभित्र अतिरिक्त क्रियाकलापको प्रवर्द्धनमा विशेष ध्यान दिने बताइसकेका छन् ।

कोषाध्यक्ष पदमा मिस्मा राना : संगठनको उदीयमान नेतृत्व
नेविसंघले कोषाध्यक्ष पदमा मिस्मा रानालाई अघि सारेको छ । अघिल्लो कार्यकालमा विभिन्न विद्यार्थी गतिविधिमा सक्रिय रहँदै उनले संगठनको मजबुतीका लागि महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । उनी संगठन र जिम्मेवारी प्रति इमानदार, निडर, र नेतृत्वदायी क्षमतायुक्त विद्यार्थी नेतृका रूपमा चिनिन्छिन् । उनी महिला र जनजातिको समेत प्रतिनिधित्व गरेकी साझा उम्मेदवार हुन् ।

रानाले क्याम्पसभित्रको आर्थिक पारदर्शिता, छात्रवृत्ति व्यवस्थापन, र विद्यार्थीहरूको आर्थिक सहयोगका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेकी छिन् । उनको नेतृत्वमा संगठनले महिला विद्यार्थीहरूको हकहितका लागि विशेष पहल गर्ने अपेक्षा गरिएको छ ।

नेविसंघको मुख्य एजेन्डा : विद्यार्थी हकहित र क्याम्पस विकास
यसपटकको स्ववियु निर्वाचनमा नेविसंघले संगठन सुदृढीकरण, विद्यार्थी हकहित, र क्याम्पस विकासलाई मुख्य एजेन्डा बनाएको छ । सभापति पदका उम्मेदवार कृष्ण अर्यालले क्याम्पसको गौरवमय इतिहासलाई जोगाउँदै थप रचनात्मक काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनका अनुसार, अघिल्लो कार्यकालमा थालिएका योजना पूरा गर्न, विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न, र स्ववियुलाई अझ प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको हो।

यस निर्वाचनलाई नेविसंघले विशेष रूपमा लिएको छ । संगठनभित्र व्यापक छलफल गरी उम्मेदवार चयन गरिएको र अनुभव, क्षमता, तथा लोकप्रियतालाई मुख्य मापदण्ड बनाइएको बताइन्छ । विद्यार्थीहरूको दीर्घकालीन हितलाई ध्यानमा राख्दै संगठनले प्रचारप्रसार गरिरहेको छ ।

विद्यार्थीहरूको आकर्षण नेविसंघप्रति बढ्दो
त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन विद्यार्थीहरूका लागि विशेष चासोको विषय बनेको छ । विभिन्न विद्यार्थी संगठनहरू आ–आफ्ना उम्मेदवारहरू लिएर प्रतिस्पर्धामा छन् । नेविसंघले संगठनलाई अझ मजबुत बनाउन सक्षम नेतृत्व चयन गर्ने रणनीति अख्तियार गरेको छ ।

नेविसंघका उम्मेदवारहरू अर्याल, बस्याल, र रानाले विद्यार्थीहरूको विश्वास जित्दै संगठनलाई अझ मजबुत बनाउने लक्ष्य लिएका छन् । अनुभव, लोकप्रियता, र संगठनात्मक सुदृढीकरणलाई जोड दिँदै अघि बढेको नेविसंघको प्यानल यसपटक पनि प्रभावशाली हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *