मिस्मा राना
तानसेनको साँघुरो सडक, पुरानो घरको झ्यालबाट झुल्किने उत्सुक अनुहार, ढोल, नगारा र पञ्चैबाजा बजाउँदै अगाडि बढिरहेको भीड, काँधमा उचालिएको सुशोभित खटमा स्थापित भगवतीको मूर्ति, यी सबै दृश्य कुनै धार्मिक उत्सवको भाग मात्र नभई, पाल्पाको आत्मा र नेपाली इतिहासको गौरवपूर्ण अध्याय हो ।
यो जात्रा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन, कृष्ण जन्माष्टमीको भोलिपल्ट, तानसेनमा भव्य रूपमा मनाइन्छ। यस जात्राले २०६ वर्षअघि आक्रमणकारी अंग्रेज सेनामाथि नेपाली वीरहरूले हासिल गरेको ऐतिहासिक विजय देखाउँछ ।
सन् १८१४–१८१६ को अङ्ग्रेज–नेपाल युद्धको समयमा, तानसेनका शासक तथा गोर्खाली वीर कर्णेल उजिरसिंह थापाले जितगढी किल्लाबाट युद्ध नेतृत्व गर्दा, पाल्पाको देवी महिषासुरमर्दिनी भगवतीलाई प्रार्थना गर्दै वाचा गरेका थिए—
“यदि विजय प्राप्त भए, म तपाईंको मन्दिर निर्माण गर्नेछु र वार्षिक महोत्सवको सुरुवात गर्नेछु।”
विजय प्राप्त भयो। अंग्रेज सेनालाई जितगढीको डाँडाबाट पराजित गरियो। उजिरसिंह थापाले आफ्नो वाचा पूरा गर्दै राण उजेश्वरी भगवती मन्दिर निर्माण गराए, जसको सुनौलो गजुर र अष्टधातुको अठार हात भएको मूर्तिले आज पनि वीरता र श्रद्धाको कथा बोलिरहेको छ।
सन् १८२० (वि.सं. १८७७) बाट सुरु भएको खट जात्रा “आजको भगवती जात्रा” एक दिनको मात्र कार्यक्रम मात्र नभई पूर्खाको बहादुरीको इतिहासको प्रमाण हो।
तानसेनको भगवती जात्रा, काठमाडौंको रथयात्रा जस्तो तर त्यसभन्दा भिन्न छ । यहाँ रथ तानिँदैन, बरु कुमाल समुदायका बलिया काँधहरूमा खट उचालिन्छ ।
लुम्बिनी प्रदेश सरकारले यस दिनलाई जिल्ला स्तरीय सार्वजनिक बिदा घोषणा गर्ने परम्परा बसाइसकेको छ। बिहानैदेखि नेपाली सेना, प्रहरी, सरकारी अधिकारीहरू मन्दिर पुगेर पूजा अर्चना गर्छन्। सेनापतिले ऐतिहासिक युद्धमा प्रयोग भएको भनिने खड्ग देवीको खटमा राख्छन्।
खट अगाडि बढ्दै जाँदा, बाटोभरि भैंसी र बोका बलिदान दिइन्छ, पञ्चैबाजाको ताल, भजन–कीर्तन, लोकनृत्य, लहरे र लाखे नाचले वातावरण उल्लासमय हुन्छ। भीडले सडकभरि रङ्गीन अबिर उडाउँछ यस कारण यसलाई सिन्दूर जात्रा पनि भनिन्छ।
खटको यात्रा राणउजेश्वरी भगवती मन्दिरबाट सुरु भई पाल्पा दरबार, शीतलपाटी, बसन्तपुर, दी क्याम्पस महेन्द्र दल गण हुँदै फेरि मन्दिरमै फर्किन्छ।
तानसेन बजारका पुराना नेवारी घरका झ्याल/झ्यालबाट टोलका बूढा/बूढी, टोलमा खेलिरहेका बालबालिका र टाढाबाट आएका पर्यटकहरु सबैले देवीको दर्शन गर्छन्।
यद्यपि मन्दिर हिन्दू परम्परामा आधारित छ, यसको पूजा/संरक्षण बज्रयान बौद्ध गुंभाजु परिवारले गर्ने परम्परा छ। यसले पाल्पाको धार्मिक सहिष्णुता र सहअस्तित्वको सन्देश दिन्छ।
यो जात्रामा ब्राह्मणदेखि नेवार, गुरुङ, मगर, मुस्लिम व्यापारीदेखि बाहिरबाट आएका पर्यटकसम्म, सबैको मुहारमा उत्साह देखिन्छ।जसले यसलाई साँस्कृतिक ऐक्यताको मंच बनाएको छ।
भगवती जात्रा, पाल्पाका लागि पर्यटनको खानी हो। हरेक वर्ष हजारौं भक्तजन र पर्यटक तानसेन आउने गर्छन्। स्थानीय होटल, पसल, यातायातदेखि हस्तकला सबैको व्यापार बढ्छ।
यस जात्राले नयाँ पुस्तामा इतिहासप्रति गर्व जगाउँछ, वीरता र स्वाभिमानको पाठ दिन्छ र एकता तथा संस्कृतिको संरक्षणमा योगदान पुर्याउँछ।
आजको आधुनिक युगमा जहाँ कतिपय परम्परा हराउँदै गएका छन्, तानसेनको भगवती जात्रा अझै पनि त्यही जोश, त्यही श्रद्धा र त्यही वीरताको भाव बोकेर बाँचिरहेको छ। जब काँधमा उचालिएको खट तानसेनका गल्लीमा अगाडि बढ्छ, तब लाग्छ—इतिहास फेरि फर्केर आएको छ र हामी सबै त्यसका साक्षी बनिरहेका छौं।
(लेखक राना स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी कोषाध्यक्ष समेत हुन् ।)