चिदीपानीमा एकीकृत घुम्ती शिविर सम्पन्न, ४२९ जना लाभान्वित

 

वल बहादुर उचै‚ पाल्पा ।

२२ माघ

माथागढी गाउँपालिकाको आयोजनामा माथागढी गाउँपालिका–१, चिदीपानीमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ। नागरिकलाई घरदैलोमै बहुक्षेत्रीय सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविर वडा कार्यालय भवन, चिदीपानीमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन गरिएको थियो।

शिविरमार्फत एलोपेथिक स्वास्थ्य सेवा अन्तर्गत हाडजोर्नी रोग परीक्षण, जनरल मेडिसिन, स्त्री रोग परीक्षण तथा परामर्श, छाला रोग परीक्षण, प्रजनन स्वास्थ्य सेवा, यौन रोग परीक्षण, परिवार नियोजन सेवा (इम्प्लान्ट तथा आई.यु.सि.डी.), ल्याब सेवा तथा निःशुल्क औषधि वितरण गरिएको थियो। शिविरबाट स्वास्थ्य सेवातर्फ १८५ जना, कृषि सेवातर्फ ८४ जना, पशु सेवातर्फ ८९ जना तथा आयुर्वेद सेवा अन्तर्गत जेष्ठ नागरिकतर्फ १० जना गरी जम्मा ३६८ जना लाभान्वित भएका छन्।

यसैगरी आयुर्वेद सेवातर्फ दीर्घ रोग, जीवनशैलीजन्य समस्या तथा सामान्य रोगहरूको आयुर्वेदिक उपचार, परामर्श तथा औषधि वितरण गरिएको थियो। कृषि तथा पशुपन्छी सेवातर्फ बाली तथा माटो परीक्षण, फार्म दर्ता तथा नवीकरण सेवा उपलब्ध गराइएको थियो भने महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामार्फत जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले एकीकृत घुम्ती शिविरले नागरिकको समय, श्रम र खर्च बचत गर्दै स्थानीय सरकारलाई नागरिकको नजिक पुर्‍याउने महत्वपूर्ण माध्यम बनेको बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँपालिकाको प्राथमिकता भनेकै नागरिकलाई एकै स्थानबाट छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्नु हो।”

 

कार्यक्रमका अतिथि वडा अध्यक्ष राजकुमार पन्थीले वडा तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने माध्यमका रूपमा एकीकृत घुम्ती शिविर उपयोगी भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले सबै शाखा तथा सम्बन्धित निकायबीच समन्वय गरेर सेवाग्राहीलाई व्यवस्थित, सहज र प्रभावकारी सेवा प्रदान गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यम बहादुर चिदी प्रमुख अतिथि, उपाध्यक्ष विष्णुमाया लुङ्चे विशिष्ट अतिथि रहनुभएको थियो। औपचारिक कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा अध्यक्ष राजकुमार पन्थीले राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख केशव जिसीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *