पाल्पा
१३ माघ
पाल्पाको बगनासकाली गाउँपालिका–५ मा मादल वितरण तथा बजाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। महिला उत्थान गाउँ समन्वय समिति बगनासकाली वडा नं. ५ को आयोजनामा सम्पन्न उक्त तालिममा २२ जना सहभागी महिलाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष ओम प्रकाश गैरे रहनु भएको थियो। उहाँले लोक संस्कृति संरक्षण र महिलाको सशक्तीकरणमा यस्ता तालिमहरू प्रभावकारी हुने बताउँदै सहभागीलाई सिकेको सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
महिला उत्थान गाउँ समन्वय समिति अध्यक्ष माया भण्डारीले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनु भयो। उहाँले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक र सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै गाउँ कार्यपालपका सदस्य घुमा देवी भट्टराईले मन्तव्य राख्नु भएकाे थियाे
तालिममा मादलको महत्व, इतिहास तथा बजाउने व्यावहारिक विधिबारे प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका प्रशिक्षक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाका पूर्व अध्यक्ष कमल भट्टराई तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, पाल्पाका अध्यक्ष रुपेश कार्की रहनु भएको थियो।
कार्यक्रमले स्थानीय लोकसंस्कृति संरक्षणमा टेवा पुग्नुका साथै महिलाहरूको प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।