मंसिर ९
तानसेन, पाल्पा — ११ औँ राष्ट्रिय उद्योग दिवस २०८२ तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम तानसेनस्थित घरेलु तथा साना उद्योग कार्यालय, पाल्पामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी सरकारका माननीय सभामुख तुलाराम घर्ति मगर रहनुभएको थियो। कार्यक्रममा विभिन्न सरोकारवाला संस्था, उद्योगी–व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममार्फत उत्कृष्ट पाँच जना उद्यमीलाई रु १५,००० नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। सम्मानित उद्यमीहरू यसप्रकार छन्–
1. रुकविर रेश्मी – चिनारी बहुउद्देश्यीय एग्रिकल्चर फर्म, तानसेन–१२
2. कृष्ण प्रसाद खनाल – सावित्री फुड्स प्रोडक्सन, माथागढी–३
3. हरि बहादुर रायमाझी – सरस्वती ढाका उद्योग,तानसेन-४
4. दुर्गा बहादुर सारु – देउराली ढाका कपडा उद्योग, तानसेन–८
5. फनी सरा गाहा – न्यू राना ढाका उद्योग, माथागढी–३
माननीय सभामुख घर्ति मगरले उद्यमी सम्मानले उद्यमशीलतामा नयाँ ऊर्जा थप्ने बताउँदै देश विकासका आधार रोजगार र उद्योग भएको उल्लेख गर्नुभयो। राज्यले सिर्जना गर्न नसकेको अवसरलाई स्वयं उद्यमीहरूले सिर्जना गरिरहेकाेप्रति उहाँले प्रशंसा व्यक्त गर्दै लुम्बिनी प्रदेश सरकारबाट उद्योग क्षेत्रका नीतिगत समस्या समाधानमा अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघ पाल्पा, पाल्पा व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ पाल्पा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले उद्योग–धन्दा सञ्चालनका लागि राज्यले थप सहयोगी वातावरण निर्माण गर्न आवश्यक भएकोमा जोड दिएका थिए। कार्यक्रममा उद्योग अधिकृत केसव सुनारले उद्योग तथा उद्यमीहरुले उद्योग धन्दा बन्द गर्न आउनेकाे संख्या बढेकाले त्यसकाे कारण, समस्या,समाधान चुनाैतिकाे विषयमा सहजिकरण गरि समाधानका उपाय खाेज्नका लागि लुम्बिनी सरकारलाई पहल गर्न आग्रह गर्दै आगामी याेजनाका बारेमा प्रस्तुतीकरण राख्नु भयाे ।
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख केशव सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो भने उद्यम विकास सहजकर्ता मनोज घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।


