
तानसेन, पाल्पा
भाद्र १६
तानसेन नगरपालिकाले नगरको मौलिक पहिचान झल्काउने नगरगान तयार गर्न नागरिकबाट शब्द रचना आह्वान गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकलाई नगरगान रचना गरी पेश गर्न आग्रह गरेको हो।
नगरपालिकाका अनुसार नगरगानमा तानसेन नगरपालिकाको मातृभूमिप्रतिको सम्मान, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक, आर्थिक तथा समग्र पहिचान झल्किने विषय समेटिनुपर्नेछ।
नगरपालिकाले नगरगानको शब्द बढीमा ५० शब्दसम्म हुनुपर्ने जनाएको छ। प्रकाशित सूचनाअनुसार इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आफ्नो रचना तानसेन नगरपालिकाको कार्यालयमा पेश गर्नुपर्नेछ।
नगरपालिकाले छनोट भएको उत्कृष्ट नगरगानका लागि रु. ५० हजार पुरस्कार उपलब्ध गराउने जनाएको छ।
नगरगानमार्फत तानसेनको इतिहास, संस्कृति, प्रकृति र मौलिक पहिचानलाई समेट्दै नगरको गौरवलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्य रहेको नगरपालिकाले जनाएको छ।