वल बहादुर उचै ‚ पाल्पा ।
कार्तिक २३
पाल्पा-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, पाल्पा शाखाको २३औं साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रुपेश कार्की सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यसैगरी प्रथम उपाध्यक्षमा दिपक के.सी. ,द्वितीय उपाध्यक्षमा गणेश न्यौपाने, महिला उपाध्यक्षमा धनी सरा खाम्चा, सचिवमा रामकृष्ण थापा, कोषाध्यक्षमा मेघराज बस्याल, सह–सचिवमा सुमित कुमार घिमिरे र सह–कोषाध्यक्षमा रूपा थापा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शिव देवकोटाले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरूमा बिजय बमरेल, भरत खड्की, ममता कोईराला, जनकराज अर्याल, श्री कृष्ण थापा, गोविन्द थापा, अनिता ज्ञवाली, महादेव विश्वकर्मा, सिमा सारू, यशोद्धा कार्की, निरु सुनार, बिष्णु कोईराला, सुरेश रायमाझी र चाेपी कुमारी गाहा निर्वाचित हुनुभएको छ ।

यस कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष बद्री पंगेनी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पंगेनीले दोहोरी गीत नेपाली संस्कृतिको जरा भएको बताउँदै यसले देशको पहिचान र मौलिकता जोगाउने काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले पाल्पामा लोक तथा दोहोरी गीतको अभ्यास, संरक्षण र प्रचारमा सक्रिय रहन सबै सदस्यलाई आह्वान गर्नुभयो । साथै, उहाँले नयाँ नेतृत्वले पाल्पालाई लोकगीत र सांस्कृतिक केन्द्रको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दामोदर बस्याल र प्रदेश सचिव रेखा विस्टले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरूले लोक तथा दोहोरी गीत केवल मनोरञ्जनको माध्यम नभई राष्ट्रिय एकता र सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । उहाहरूले स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिका वडा नं ७ का वडा अध्यक्ष प्रदीप खनाल लगायत सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । अधिवेशनमा पाल्पाका विभिन्न स्थानबाट आएका लोक तथा दोहोरी कलाकारहरूको सहभागिता उल्लेख्य रहेको थियो । कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा निवर्तमान अध्यक्ष कमल प्रसाद भट्टराईको अध्यक्षता भएको थियो । नवगठित कार्यसमितिले आगामी कार्यकालमा पाल्पा जिल्लाभर लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । अध्यक्ष रुपेश कार्कीले जिम्मेवारी ग्रहण गर्दै नेपाली मौलिक संस्कृति र लोक परम्पराको जगेर्नाका लागि प्रतिष्ठान सदैव अग्रसर रहने बताउनु भएको छ । कार्यक्रममा कार्यसमितिका सबैले पद तथा गाेपनियता सपथ ग्रहण गरेका थिए ।