तानसेन डान्स आईडल तथा खाना महाेत्सव हुने

पाल्पाको तानसेनमा गरिब तथा जेहनदार विद्यार्थीहरूलाई भाग्य बोकेको झोला सहयोग गर्ने उद्देश्यसहित पौष ४ र ५ गते खाना महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । सोही अवसरमा कला संस्कृतिको संरक्षण र नयाँ प्रतिभाको पहिचान गर्ने लक्ष्यसहित तानसेन डान्स आइडल २०८ विद्यालयस्तरीय तथा खुला डान्स प्रतियोगिताको फाइनल पनि सम्पन्न गरिने भएको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सिना ले सामाजिक उत्तरदायित्वसँग जोडिएका यस्ता कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले गरिब तथा जेहनदार विद्यार्थीलाई सहयोग गर्नुका साथै कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले स्थानीय स्तरबाटै कला संस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो ।

कार्यक्रमको उद्देश्यबारे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश सदस्य कमल भट्टराईले कला र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई प्रोत्साहन गर्नु मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभयो । सांस्कृतिक संयोजक श्रीकृष्ण थापाले दुई दिनसम्म सञ्चालन हुने सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी दिँदै पौष ४ गते गायक अलिफ खान, रूपेश कार्की लगायत र पौष ५ गते गायक तथा मोडल श्याम राना लगायतका कलाकारको प्रस्तुति रहने बताउनुभयो ।

कार्यक्रम तानसेन नगरपालिका वडा नं. ६ को समन्वय, तानसेन नगरपालिकाको संरक्षण तथा राज मञ्जु श्री कला केन्द्रको आयोजनामा हुन लागेको हो । आयोजकका अनुसार डान्स आइडल प्रतियोगितामा प्रथम हुनेले २५ हजार रुपैयाँ नगदसहित मेडल, प्रमाणपत्र, म्युजिक भिडियो खेल्ने अवसर  र ६ महिना निःशुल्क डान्स कक्षा प्राप्त गर्नेछन् भने द्वितीयले १५ हजार रुपैयाँ नगदसहित मेडल, प्रमाणपत्र, म्युजिक भिडियो खेल्ने अवसर  र ३ महिना निःशुल्क डान्स कक्षा पाउनेछन् । तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद तथा सान्त्वना स्थान प्राप्त गर्नेहरूलाई ५ हजार रुपैयाँ नगदसहित मेडल, प्रमाणपत्र र म्युजिक भिडियो प्रदान गरिने आयोजकले जनाएका छन  । पत्रकार सम्मेलनको अध्यक्षता राज मञ्जु श्री कला केन्द्रका अध्यक्ष राज राईले गर्नुभएको थियो भने सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाका सचिव तथा कार्यक्रम संयोजक रामकृष्ण थापाले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *