तानसेन, पाल्पा
पाल्पा उद्योग वाणिज्य संघ पाल्पाले तानसेन नगरपालिका–१, गोर्खेकोटमा निर्माणाधीन भवनलाई व्यवस्थित तथा प्रभावकारी रूपमा प्रयोगमा ल्याउने उद्देश्यले स्थलगत अवलोकन तथा अध्ययन गरेको छ।
पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष मुक्तिराम जीसीको संयोजकत्वमा भएको अवलोकन कार्यक्रममा संघका अध्यक्ष समीरमान सिंहसहितको टोली निर्माणाधीन भवनको स्थलमै पुगेर भवनको वर्तमान अवस्था, आवश्यक पूर्वाधार तथा आगामी दिनमा कुन-कुन प्रयोजनमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन तथा विश्लेषण गरेको हो।
अवलोकनपछि भवनलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन आवश्यक योजना बनाएर काम अघि बढाइने उपाध्यक्ष मुक्तिराम जीसीले बताउनुभयो। उहाँका अनुसार भवनलाई संघका गतिविधि तथा उद्योगी–व्यवसायीको हितमा अधिकतम उपयोग हुने गरी व्यवस्थापन गर्ने तयारी भइरहेको छ।
यसैगरी, २०८३ साल असोज १० गते आयोजना हुने पाल्पा उद्योग वाणिज्य संघको साधारणसभा यही निर्माणाधीन भवनमा गर्ने गरी तयारी भइरहेको संघका अध्यक्ष समीरमान सिंहले बताउनुभयो।
अध्यक्ष सिंहका अनुसार साधारणसभालाई लक्षित गर्दै भवनमा आवश्यक व्यवस्थापन तथा पूर्वाधार तयारीको काम अघि बढाइनेछ। निर्माणाधीन भवनलाई आगामी दिनमा उद्योगी तथा व्यवसायीका कार्यक्रम, बैठक, सभा तथा अन्य संस्थागत गतिविधिका लागि समेत उपयोग गर्ने लक्ष्य संघले लिएको छ।
